काठमाडौँ : सरकारले मालपोत कार्यालयहरूमा देखिँदै आएको ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्ने उद्देश्यले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागले बुधबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई धितो बन्धकीको काम अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्र गर्न निर्देशन दिएको हो।
विभागका अनुसार भू–सेवा केन्द्र सञ्चालनका लागि अनुमति लिई विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका बैंक तथा वित्तीय संस्थाहरूले आजैदेखि अनलाइन प्रणालीबाट मात्र धितो बन्धकीको कारोबार सञ्चालन गर्नुपर्नेछ।
त्यसैगरी, हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका तथा सम्झौता नगरेका बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी जेठ १ गतेदेखि यो व्यवस्था अनिवार्य लागू हुने विभागले स्पष्ट पारेको छ। ती संस्थाहरूलाई आवश्यक अनुमति लिएर प्रणालीमा आबद्ध हुनसमेत आग्रह गरिएको छ।
नतिजामुखी शासकीय प्रबन्धअनुसार सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रदान गर्न यो प्रणाली लागू गरिएको विभागको भनाइ छ। यस सम्बन्धमा देशभरका सबै भूमिसुधार तथा मालपोत कार्यालयहरूलाई आवश्यक कार्यान्वयनका लागि परिपत्र पठाइसकिएको छ।
सरकारका अनुसार यो व्यवस्था पूर्ण रूपमा लागू भएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का तथा फुकुवा गर्न सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै, बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने अवस्थासमेत हट्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij