Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नवलपुरमा वृद्ध दम्पतीमाथि आक्रमण गरी हत्या–लुटपाट गर्ने अभियुक्त पक्राउ

नवलपुरमा वृद्ध दम्पतीमाथि आक्रमण गरी हत्या–लुटपाट गर्ने अभियुक्त पक्राउ

नवलपुर : नवलपुरमा वृद्ध दम्पतीमाथि आक्रमण गरी लुटपाट तथा हत्या गरेको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का अनुसार २०८२ चैत २३ गते देवचुली नगरपालिका–१६, टाँडीकोट टोलका ७५ वर्षीय जिउराम थनेत र उनकी ७१ वर्षीया श्रीमती गुलबसिया थनेतमाथि घरमै आक्रमण भएको थियो।

अपरिचित व्यक्तिले दम्पतीमाथि टाउकोमा प्रहार गरी सुनका गरगहना लुटपाट गरेका थिए। घटनामा गम्भीर घाइते जिउराम थनेतको उपचारका क्रममा मृत्यु भएको थियो भने उनकी श्रीमती उपचारपछि बाँच्न सफल भएकी थिइन्।

घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–४, सुकेधाराबाट घटनामा संलग्न व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–९ का ३१ वर्षीय सञ्जय बिक रहेका छन्। उनलाई जिल्ला अदालत नवलपुरबाट ७ दिनको म्याद थप गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार अभियुक्तबाट नगद रु. ३ लाख ७५ हजार, विभिन्न ब्रान्डका ३ मोबाइल सेट, ४ एनटीसी सिम र ४ एनसेल सिम बरामद गरिएको छ।

अभियुक्तको आपराधिक पृष्ठभूमि समेत रहेको खुलेको छ। उनी २०७२ सालको चोरी मुद्दा तथा २०८० सालको हत्या–लुटपाट घटनामा समेत संलग्न रही कारागारबाट २०८१ सालमा फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij