Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बाढी र पहिरोका कारण अझै अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अझै अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ :  विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्ला भएर जाने विपी राजमार्ग बाढीका कारण नराम्ररी प्रभावित भएको छ। नमोबुद्ध नगरपालिका वडा नं. ६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा बाढी आएका कारण यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा पनि बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

683434668_1469986224572518_6073057922172999023_n_0qYUVrpIfP.jpg
undefined

यद्यपि, ललितपुर र मकवानपुर जोड्ने कान्तिलोकपथ भने पहिरो पन्छाएपछि अहिले सुचारु भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि सुचारु अवस्थामा रहेको छ।कोशी प्रदेशको इलाममा अविरल वर्षाका कारण जिल्ला इलाम रोड तथा झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भोजपुर स्थित मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा बाढीका कारण सडक एकतर्फी रूपमा मात्र सुचारु छ। ताप्लेजुङको सुकिम्बा–दोभान सडक खण्ड भने पहिरो हटेर पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।गण्डकी प्रदेशमा पनि मुख्य राजमार्गहरूमा आंशिक अवरोध कायमै छ। म्याग्दीको बेनी–जोमसोम सडक खण्ड र लमजुङको मध्य पहाडी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी मात्र सुचारु छ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पहिरो गएपछि २२ गतेदेखि नै एकतर्फी रूपमा सवारी गुडिरहेका छन्।विभिन्न स्थानमा अझै पनि पहिरो झर्ने र बाढी आउने जोखिम कायमै रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अधिकारीहरूले आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij