सुनसरी : सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर भइरहेको गाँजा तस्करीलाई प्रहरीले असफल तुल्याएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पुल्ठेगौडाबाट ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिक र तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी गस्ती टोलीले यो सफलता हात पारेको हो।
मंगलबार साँझ ५ बजेको समयमा चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको भारतीय एम्बुलेन्स प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेको थियो। एम्बुलेन्सको हर्कत शंकास्पद देखिएपछि प्रहरी टोलीले त्यसको पिछा गरेर नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको उक्त एम्बुलेन्सभित्र खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा १४८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएसँगै प्रहरीले एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार सोही ठाउँका २१ वर्षीय मोहम्मद सदामलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई बरामद गरिएको गाँजा र एम्बुलेन्ससहित आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij