चितवन : कारागार कार्यालय चितवनबाट फरार भएका कैदीबन्दीमध्ये एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवी रहेको कारागार कार्यालयले जनाएको छ । उनलाई वीरगञ्जबाट पक्राउ गरी चितवन ल्याइएको हो ।
कारागार कार्यालय चितवनका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार जेनजी प्रदर्शनका क्रममा गत भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी कारागारबाट फरार भएका थिए । फरार हुनेमध्ये ११ जना भारतीय नागरिक रहेका थिए ।
हालसम्म ६४० जना कैदीबन्दी सम्पर्कमा फर्किसकेको कार्यालयले जनाएको छ भने अझै १०३ जना फरार रहेका छन् । फरारमध्ये धेरैजसो लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका अभियुक्त रहेको जानकारी दिइएको छ । दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकारीसमेत फरार सूचीमा रहेको कार्यालयले जनाएको छ ।
कारागार कार्यालयले असोज २० गतेभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो । तोकिएको समयभित्र सम्पर्कमा नआए कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनअनुसार कारबाही गरिने कारागार प्रशासनले जनाएको छ ।