Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

आफुलाई बदनाम गरेको भन्दै जीतपुरसिमराका मेयर पौडेलले दिए साइबर ब्यूरोमा उजुरी

आफुलाई बदनाम गरेको भन्दै जीतपुरसिमराका मेयर पौडेलले दिए साइबर ब्यूरोमा उजुरी

बारा :  बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल विरुद्ध सामाजिक सञ्जालमा फैलाइएको एक विवादास्पद तस्वीरको विषय अहिले चर्चाको केन्द्र बनेको छ। तस्वीर सार्वजनिक भएपछि त्यसलाई लिएर विभिन्न कोणबाट टिप्पणी हुन थालेपछि मेयर पौडेलले साइबर अपराध अन्तर्गत अनुसन्धानको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।

फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त तस्वीरमा मेयर पौडेललाई लक्षित गर्दै भ्रामक सन्देश प्रवाह गरिएको उनको आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टी निकट मानिएका राजकुमार यादवले उक्त पोस्ट सामाजिक सञ्जालमा शेयर गरेपछि विषयले व्यापक चर्चा पाएको हो। तस्वीरमा देखिएको अवस्थालाई लिएर विभिन्न व्याख्या हुन थालेपछि मेयर पौडेलले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।समाजिक सञ्जालमा ए.आई.सँग बनाईएको फोटोमा मेयर पौडेलसँग अनुहार मिल्दोजुल्दो ब्यक्ति कार्यालय जस्तो देखिने ठाउँमा बसेर कुकुरसँग एउटै थालमा खाईरहेको देखिन्छ ।

मेयर पौडेलले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा सामग्री फैलाइएको दाबी गरेका छन्। उनले सार्वजनिक वक्तव्यमार्फत आफू तस्वीरमा देखिएका व्यक्तिसँग परिचित नभएको उल्लेख गर्दै “यदि मलाई चिन्ने व्यक्ति हुन् भने वास्तविकता सार्वजनिक गरिदिनुस्” भन्दै चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिएका छन्।

उनका अनुसार घटनाबारे साइबर ब्यूरोका प्रमुखसहित मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय सिमरालाई समेत जानकारी गराइएको छ। उनले सामाजिक सञ्जाललाई व्यक्तिगत प्रतिशोध र चरित्रहत्या गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।

यस घटनाले स्थानीय राजनीतिक वृत्तमा समेत तरंग सिर्जना गरेको छ। सामाजिक सञ्जालमा कतिपयले प्रमाणबिना कसैको प्रतिष्ठामाथि प्रहार गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् भने केहीले तस्वीरको वास्तविकता र सन्दर्भबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा पुष्टि नभएका तस्वीर, भिडियो तथा सामग्री भाइरल बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै नागरिकस्तरबाट समेत चिन्ता व्यक्त हुन थालेको छ। यस्ता गतिविधिले व्यक्तिको सामाजिक छवि र सार्वजनिक जीवनमा गम्भीर असर पार्ने भएकाले सम्बन्धित निकायले कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको छ।
उता, नेपाल प्रहरी साइबर ब्यूरो ले प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट