Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवनका एकसहित आठ जना पक्राउ

चितवनका एकसहित आठ जना पक्राउ

चितवन :  प्रहरीले ललितपुर, दाङ र सुर्खेतका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५२५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहेका छन्। प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको टोलीले मंगलबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्राम र नगद १९ हजार ३५० रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, १९ वर्षीया बिमला बुढा मगर र २१ वर्षीय देबका थापा क्षेत्री रहेका छन्। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०४ मा तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

त्यसैगरी, घोराही उपमहानगरपालिका–१५ नवबिहानी टोलस्थित घोराही बजारबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित ३४ वर्षीय शंकर नेपाली पक्राउ परेका छन्। उनलाई सोमबार साँझ वडा प्रहरी कार्यालय घोराहीले पक्राउ गरेको हो।

उता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्रामसहित बराहताल गाउँपालिका–९ का १७ वर्षीय किशोर पक्राउ परेका छन्। प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतको टोलीले मंगलबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट