काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा तथा भौतिक संरचनाको सुरक्षा र संरक्षणमा तत्काल ध्यान दिन निर्देशन दिएको छ । मन्त्रालयले हालै परिपत्र जारी गर्दै अस्पतालहरूको जग्गा अतिक्रमण भए–नभएको विस्तृत विवरण माग गरेको हो । परिपत्रमा स्वीकृत नक्साअनुसार जग्गाको साँध–सिमाना यकिन गर्न तथा अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए–नभएको तथ्यगत विवरण तयार गर्न भनिएको छ ।
मन्त्रालयले अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना दिन निर्देशन दिएको छ । अटेर गरे जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन समेत भनिएको छ । यस्तै, अस्पतालको भोगाधिकार पुनः कायम गर्न र भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा फिर्ता गरिएको जग्गामा घेराबार तथा अन्य सुरक्षात्मक उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले लालपुर्जा तथा स्रेस्ता अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न समेत निर्देशन दिएको जनाएको छ । परिपत्रमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका स्वास्थ्य संस्थाको नाम उल्लेख गरिएको छ । अस्पतालहरूको सम्पत्ति संरक्षण गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij