काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदन गुरुङसँग सम्बन्धित सम्पत्ति विवादमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। शुक्रबार सरकारद्वारा गठन गरिएको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गुरुङमाथि उठेका आरोपबारे समितिले निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गरेका हुन् । उनले भने- ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नहोस्।’
उनले छानबिन समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने धारणा राखेका छन् । साथै समितिले आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्र काम नगर्न समेत सचेत गराएका छन् ।
पूर्वगृहमन्त्री गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा सेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिएका थिए । उक्त विषय सार्वजनिक भएसँगै उनीमाथि राजनीतिक तथा नैतिक प्रश्न उठ्न थालेको थियो ।
त्यसपछि गुरुङले गत वैशाख ९ गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, राजीनामापछि लामो समयसम्म सरकारले छानबिन प्रक्रिया अघि नबढाएको भन्दै प्रतिपक्षले आलोचना गर्दै आएको थियो ।
त्यसपछि बिहिबार सरकारले पूर्वगृहमन्त्री गुरुङसँग जोडिएको शेयर प्रकरण तथा सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्षतासहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij