Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बजेट अभावका बीच समस्याग्रस्त बाघ पाल्न चितवन निकुञ्जलाई सकस

बजेट अभावका बीच समस्याग्रस्त बाघ पाल्न चितवन निकुञ्जलाई सकस

चितवन : विभिन्न समयमा मानव बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने तथा स्थानीयवासीमा त्रास फैलाउने पाँच वटा समस्याग्रस्त बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका छन् । नियन्त्रणमा लिएर विगत पाँचदेखि छ वर्षसम्म खोरमै राखिएका ती बाघको पालनपोषण गर्न बजेट अभाव भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कसरास्थित खोरमा दुई वटा, देवनगरमा एक वटा र पूर्वी क्षेत्र सौराहामा एक वटा बाघ राखिएको छ । मानव बस्तीमा पसेर आक्रमण गर्ने, पशु चौपायामा क्षति पुर्‍याउने तथा स्थानीयमा डर–त्रास फैलाउने गतिविधि गरेपछि ती बाघलाई नियन्त्रणमा लिइएको हो ।

खोरमा राखिएका बाघलाई नियमित आहाराको व्यवस्था गर्न नै निकुञ्जलाई कठिन भइरहेको सूचना अधिकारी थापामगरले बताए । उनका अनुसार एउटा बाघलाई हरेक दुई  दिनमा करिब सात किलो राँगाको मासु खुवाउने गरिएको छ । एक पटकको आहार व्यवस्थापनमै करिब चार हजार रुपैयाँ खर्च हुने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले चालु आर्थिक वर्षका लागि समस्याग्रस्त बाघको पालनपोषणतर्फ जम्मा सात लाख ६२ हजार रुपैयाँ मात्रै बजेट पाएको जनाएको छ । उक्त बजेट पर्याप्त नभएकाले अपुग खर्च राष्ट्रिय प्रकृति संरक्षण कोष तथा संरक्षण क्षेत्रमा क्रियाशील अन्य सहयोगी संस्थामार्फत व्यवस्थापन हुँदै आएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

समस्याग्रस्त बाघलाई पुनः जंगलमा छाड्न नसकिने अवस्था भएकाले उनीहरूको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निकुञ्ज प्रशासनको भनाइ छ । मानव सुरक्षा र वन्यजन्तु संरक्षणबीच सन्तुलन कायम गर्न समस्याग्रस्त बाघको उचित व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट