Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवन प्रहरीद्वारा एकैदिन २१ फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

चितवन प्रहरीद्वारा एकैदिन २१ फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

चितवन :  चितवन जिल्लामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएर लामो समयदेखि फरार रहेका २१ जना प्रतिवादीलाई प्रहरीले एकैदिन पक्राउ गरी अदालतमा पेश गरेको छ।जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले जेठ ७ गते चितवनका विभिन्न स्थानहरूमा सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये बैंकिङ कसुर, चोरी, सवारी ज्यान, अभद्र व्यवहार, लागुऔषध तथा चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार उनीहरूबाट कुल १ वर्ष ९ महिना १ दिन कैद भुक्तान हुन बाँकी रहेको तथा १३ लाख १९ हजार ७९ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।
मुद्दागत विवरणअनुसार पक्राउ परेकाहरू यस प्रकार छन्:
* चेक अनादर मुद्दा: ६ जना पक्राउ, १३ हजार ५०० रुपैयाँ जरिवाना असुल गर्न बाँकी
* लागुऔषध मुद्दा: ५ जना पक्राउ, ८ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको
* अभद्र व्यवहार: ४ जना पक्राउ, १० महिना कैद र १६ हजार रुपैयाँ जरिवाना
* चोरी मुद्दा: ४ जना फरार प्रतिवादी पक्राउ
* सवारी ज्यान मुद्दा: १ जना पक्राउ, ३ महिना कैद सजाय
* बैंकिङ कसुर: १ जना पक्राउ, १ दिन कैद र सबैभन्दा बढी १२ लाख ७९ हजार ५७९ रुपैयाँ जरिवाना
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पीडितलाई न्याय दिलाउने उद्देश्यसहित फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र रूपमा अघि बढाइएको हो।
प्रहरीले यस्ता फरार प्रतिवादीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिइने जनाएको छ।
यस अभियानले कानुनी राज्यको प्रभावकारिता र अपराध नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट