चितवन : चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेल ले प्रहरी संगठनलाई समाज परिवर्तन र नागरिक सुरक्षाको प्रमुख आधारस्तम्भका रूपमा व्याख्या गरेका छन्। उनले प्रहरीको भूमिका केवल अपराधी पक्राउ गर्ने वा कानुन कार्यान्वयनमा सीमित नभई समाजलाई सही दिशा दिने “सामाजिक इन्जिनियर” को रूपमा विस्तार भएको बताएका हुन्।
एसपी पौडेलले वर्तमान समाजमा प्रहरीको जिम्मेवारी थप संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समाजमा देखिने धेरै विवाद, झगडा, दुर्घटना तथा तनाव अदालत पुग्नुअघि नै प्रहरीको सक्रियताबाट समाधान हुने बताए। “हामी फिल्डका न्यायाधीश हौं । धेरै घटनामा प्रहरीको समन्वय, समझदारी र हस्तक्षेपले ठूलो दुर्घटना र सामाजिक द्वन्द्व टर्ने गरेको छ,” उनले भने। उनका अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरी केवल सडक वा सुरक्षा ड्युटीमा खटिने कर्मचारी होइनन्, समाजमा अनुशासन, संयमता र सुरक्षा कायम गर्ने जिम्मेवार पात्र हुन्।
सडक दुर्घटना नियन्त्रण, सार्वजनिक शान्ति कायम, पारिवारिक विवाद समाधान, सामाजिक असन्तुलन न्यूनीकरण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले प्रत्यक्ष रूपमा भूमिका खेलिरहेको उनले बताए। एसपी पौडेलले प्रहरीलाई “समाजको पहिलो उद्धारकर्ता” को रूपमा चित्रण गर्दै कुनै पनि आपत्, दुर्घटना वा संकटका बेला सबैभन्दा पहिले प्रहरी नै नागरिकको सहयोगमा पुग्ने बताए। “नागरिक समस्यामा पर्दा सबैभन्दा पहिले सम्झिने संस्था प्रहरी हो । त्यसैले प्रहरीले मानवता, संवेदनशीलता र जिम्मेवारीका साथ काम गर्नुपर्छ,” उनले स्पष्ट पारे।
उनले अहिलेको समयमा प्रहरीले अपराध नियन्त्रणसँगै सामाजिक चेतना अभिवृद्धि, नागरिकमा विश्वास निर्माण र समाजलाई सभ्य तथा व्यवस्थित बनाउने दायित्व पनि वहन गर्नुपर्ने धारणा राखे। “प्रहरीको काम हत्कडी लगाउनु मात्र होइन, समाजलाई सही बाटोमा डोर्याउनु पनि हो,” उनले जोड दिए। नागरिक र प्रहरीबीच आपसी विश्वास तथा सहकार्य बलियो भए मात्र शान्त, सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उनले नागरिकलाई पनि प्रहरीप्रति सहयोगी, जिम्मेवार र सचेत बन्न आग्रह गरे। प्रहरीलाई डरको होइन, भरोसाको संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो।