चितवन : चितवन उद्योग वाणिज्य संघले नवआगन्तुक जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई स्वागत गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा चितवन जिल्लाका लागि नयाँ प्रहरी प्रमुखका रूपमा आएका एसपी पौडेललाई औपचारिक स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योगी, व्यवसायी र प्रहरी प्रशासनबीच लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै चितवनको व्यवसायिक विकासका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको बताए । उनले जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षाका लागि चाल्ने सकारात्मक कदममा संघको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । साथै उनले एसपी पौडेलको चितवन बसाइ सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एसपी रामेश्वर पौडेलले निजी क्षेत्र तथा व्यवसायिक संस्थाहरू देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै शान्ति सुरक्षा बिना आर्थिक समृद्धि सम्भव नरहेको बताए । उनले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै सुरक्षा व्यवस्थापनमा उद्योगी तथा व्यवसायीहरूको समेत सहकार्य आवश्यक रहेको बताए ।
त्यसैगरी संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले प्रहरी एक्लैले मात्र समाजलाई सुरक्षित राख्न नसक्ने धारणा राखे । उनले व्यवसायीहरूलाई आफ्नो सुरक्षाप्रति पनि सचेत हुन आग्रह गर्दै पसलभित्र मात्र नभई बाहिरी सडक क्षेत्रसमेत समेट्ने गरी सिसी क्यामेरा जडान गर्न सुझाव दिए । उनले जिल्लाको शान्ति सुरक्षाका विषयमा संघ प्रहरी प्रशासनसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा संघका उपाध्यक्षहरू नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्यहरू तथा विभिन्न वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अधिकृत गणेश सुवेदीले गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij