काठमाडौं : सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी)देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेका अनुसार कारबाही सिफारिस हुनेमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीसहित विभिन्न तहका प्रहरी कर्मचारी रहेका छन् । एसपी सुवेदीको भने यसअघि नै सिन्धुलीबाट सरुवा भइसकेको छ ।
सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विक पक्राउ परेर खुर्कोटको हिरासत कक्षमा रहेका बेला मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी दिनेश कुमार आचार्यको नेतृत्वमा समिति गठन गरेको थियो ।
छानबिन समितिले घटनामा हिरासत व्यवस्थापन तथा निगरानी प्रणालीमा कमजोरी देखिएको निष्कर्ष निकाल्दै कारबाही सिफारिससहित प्रतिवेदन बुझाएको हो । समितिले एक जनालाई सचेत गराउन, दुई जनालाई ध्यानाकर्षण गराउन, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्न, एक जनालाई नसिहत तथा अर्का एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको छ ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । साथै ‘हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१’ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न, डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा हिरासतभित्र हुने गतिविधिको नियमित निगरानी गर्न सुझाव दिएको छ ।
कुनै पनि असामान्य गतिविधि तत्काल माथिल्लो निकायमा रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने समितिको सुझाव छ । विशेषगरी अन्तरजातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनामा आवश्यक तथ्य संकलन, परिवार तथा सरोकारवालासँग समन्वय र अनुसन्धानसम्बन्धी निर्णयमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्ता संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण प्रभावकारी बनाउन निर्देशनात्मक सुझाव दिइएको छ । समितिले प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना लागू गर्न समेत जोड दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij