Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नारायणगढका इन्स्पेक्टर कुशराज विवाद : व्यवसायीदेखि मजदुरसम्म त्रसित, प्रहरीभित्रै असन्तुष्टि “आईजीपीको नाममा थर्काउँछन्”

नारायणगढका इन्स्पेक्टर कुशराज विवाद : व्यवसायीदेखि मजदुरसम्म त्रसित, प्रहरीभित्रै असन्तुष्टि “आईजीपीको नाममा थर्काउँछन्”

चितवन  ः चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ यतिबेला प्रहरीकै गतिविधिका कारण विवादको केन्द्रमा तानिएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराज कार्कीमाथि आर्थिक असुली, शक्ति दुरुपयोग, व्यवसायीलाई धम्क्याउने तथा अवैध गतिविधिमा संरक्षण दिएको जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएपछि स्थानीय व्यवसायी, मजदुर र सर्वसाधारणमा असन्तुष्टि चुलिएको छ ।

स्थानीय व्यवसायीहरूका अनुसार इन्स्पेक्टर कार्कीले प्रहरी संगठनको अधिकारलाई व्यक्तिगत प्रभावका रूपमा प्रयोग गर्दै “आईजीपीको नजिकको मान्छे” भन्दै धम्क्याउने गरेका छन् । स्रोतले जनाएको अनुसार उनले “आईजीपीको भतिज” भएको भन्दै तत्कालीन जिल्ला प्रहरी प्रमुखमाथि समेत प्रभाव जमाउने गरेको चर्चा प्रहरी वृत्तमै हुने गरेको थियो ।

कतिपय व्यवसायीले नाम नखुलाउने सर्तमा प्रहरीकै संरक्षणमा नारायणगढका केही होटल, दोहोरी साँझ तथा रोधीघरहरूमा अवैध गतिविधि सञ्चालन भइरहेको बताएका छन् ।

स्रोतका अनुसार सिर्जना होटलसहित केही व्यवसायिक स्थलहरूबाट मासिक रकम उठाइने गरेको आरोप छ । तोकिएको रकम समयमा नबुझाए प्रहरी टोली नै व्यवसाय स्थलमा पुगेर ग्राहक त्रसित बनाउने, अनावश्यक निगरानी गर्ने तथा व्यवसाय बन्द गराउनेसम्मका गतिविधि हुने गरेको व्यवसायीहरूको दाबी छ ।

यातायात क्षेत्रसमेत यो विवादबाट अछुतो छैन। नारायणगढ यातायात र नेपाल माइक्रो जस्ता संस्थाबाट नियमित रूपमा रकम असुली हुने गरेको तथा नियमविपरीत स्थानमा यात्रु चढाउन दबाब दिने गरिएको आरोप सार्वजनिक भएको छ ।

त्यस्तै, सडकमा नियम उल्लंघन गर्ने वा लाइसेन्स नभएका सवारी नियन्त्रणमा लिएपछि कानुनी प्रक्रिया अघि बढाउनुको साटो आर्थिक लेनदेनका आधारमा छाड्ने गरिएको आरोप पनि उठेको छ । स्थानीयका अनुसार लागुऔषध र गाँजा बरामदका घटनामा समेत “सेटिङ” हुने गरेको चर्चा छ । रकम पुगे मुद्दा मिलाइने, नपुगे कारबाहीको धम्की दिइने गरेको गुनासो छ ।

साना व्यवसायी र श्रमिकसमेत प्रहरी व्यवहारबाट पीडित भएको गुनासो गरेका छन्। फुटपाथमा चिया बेच्ने गरिब तथा असक्त व्यक्तिहरूमाथि दबाब दिने, ग्यास सिलिन्डर नियन्त्रणमा लिएर दुःख दिने जस्ता गतिविधिले प्रहरीको जनमैत्री छविमाथि प्रश्न उठेको स्थानीयको भनाइ छ ।

प्रहरी संगठनभित्रै पनि इन्स्पेक्टर कार्कीको व्यवहारप्रति असन्तुष्टि रहेको बताइएको छ । मातहतका प्रहरी कर्मचारीमाथि अपमानजनक व्यवहार गर्ने, माथिल्लो तहको निर्देशन अटेर गर्ने तथा कार्यालयमा तनावपूर्ण वातावरण सिर्जना गर्ने गरेको आरोपसमेत लागेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सोमबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले “केही विषय समाचारमार्फत थाहा पाएको” उल्लेख गर्दै आन्तरिक अनुसन्धान सुरु भइसकेको र दोषी भेटिए कडा कारबाही गरिने बताएका छन् ।

स्थानीयहरूले भने नारायणगढ क्षेत्रमा बढ्दो प्रहरी अराजकता रोक्न उच्चस्तरीय निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार शान्ति सुरक्षा कायम गर्ने निकायमाथि नै अविश्वास बढ्दै जाँदा नागरिकको सुरक्षाभन्दा डरको वातावरण सिर्जना हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट