चितवन : चितवनको टिकौली जंगल क्षेत्रमा बढ्दो सवारी दुर्घटना तथा वन्यजन्तु दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीद्वारा विशेष ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। प्रहरी चौकी गोन्द्राङ र ट्राफिक प्रहरी गोन्द्राङले संयुक्त रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा अभियान सञ्चालन गर्दै सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी ‘ठाउँको ठाउँ’ नम्बर लेख्ने कार्य सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी गराए ।
प्रहरीका अनुसार धेरै सवारी साधनमा नम्बर प्लेट मेटिएको, अस्पष्ट भएको वा नदेखिने अवस्थामा रहेकाले दुर्घटना तथा कानुनी अनुसन्धानमा समस्या हुँदै आएको थियो। त्यसलाई मध्यनजर गर्दै सवारी चालकलाई सचेत गराउँदै तत्काल नम्बर प्लेट लेखाउने अभियान सञ्चालन गरिएको जनाइएको छ।
अभियानका क्रममा ५० भन्दा बढी सवारी साधनमा नम्बर प्लेट लेखिएको ट्राफिक प्रहरीले जनाएको छ। साथै सवारी चालकहरूलाई ट्राफिक नियम पालन, सुरक्षित गति, वन क्षेत्रभित्र सावधानीपूर्वक सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना समेत प्रदान गरिएको थियो।
त्यसैगरी अभियानका क्रममा लागू औषध सेवन परीक्षण गर्दा १७ जना चालकमा लापसे चेकजाच गर्दा १ जनामा पोजेटिभ देखिएको प्रहरीले ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद कोईरालाले जानकारी गराए । सोही अवसरमा सवारी चालक र सर्वसाधारणसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको “नमस्कार अभियान” पनि टिकौली जंगल सडकमा सुरू गरिएको थियो । ट्राफिकको नमस्कार अभियान अन्तर्गत ट्राफिक प्रहरीहरूले सवारी चालकलाई सम्मानपूर्वक नमस्कार गर्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
अभियानले ट्राफिक व्यवस्थापनलाई केवल कारबाहीमुखी नभई सेवामुखी र जनमैत्री बनाउन सहयोग पुगेको प्रहरीको भनाइ छ। विशेषगरी सडक अनुशासन कायम गर्ने, दुर्घटना न्यूनीकरण गर्ने तथा चालक र प्रहरीबीच सकारात्मक सम्बन्ध विकास गर्ने उद्देश्यले विभिन्न स्थानमा अभियान सञ्चालन भइरहेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने टिकौली जंगल क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको तथा सवारीको ठक्करबाट वन्यजन्तु मारिने घटना दोहोरिन थालेपछि यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij