गोरखा : गोरखा सदरमुकाममा बुधबार बिहान माइक्रो बसको ठक्करबाट एक पुरुष घाइते भएका छन्। घाइते हुनेमा गोरखा नगरपालिका–६ बोसेपानी निवासी ५३ वर्षीय कुशुमलाल श्रेष्ठ रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार बिहान करिब ५ः२५ बजे बा.प्र. ०१–००६ ख ६३२३ नम्बरको माइक्रोले उनलाई ठक्कर दिएको हो।
घटनामा घाइते श्रेष्ठको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचार गोरखा अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि गोरखा एनपिआई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त माइक्रो यात्रु चढाउन हरमटारीदेखि ब्याक गर्दै आएको क्रममा सडक किनारामा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करपछि कराउँदा समेत माइक्रो केही परसम्म ब्याक भइरहेकाले उनी गाडीमुनि परेर केही मिटर घिसारिएका थिए।
स्थानीयको सहयोगमा तत्काल माइक्रो अगाडि बढाएर श्रेष्ठको उद्धार गरी अस्पताल पुर्याइएको थियो। हरमटारीदेखि कालिमाटी चोकसम्म माइक्रो ब्याक गरेर ल्याइएको र चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले घटनामा संलग्न माइक्रो र चालक पालुङटार नगरपालिका–१ खोप्लाङ निवासी नारायण कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij