Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नख्खु कारागारबाट निस्किएको घटनामा रवि, मनिष झा, हरि ढकाल र जेलरमाथि अनुसन्धान गर्न सिफारिस

नख्खु कारागारबाट निस्किएको घटनामा रवि, मनिष झा, हरि ढकाल र जेलरमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित चार जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ। आयुक्त लिली थापाको नेतृत्वमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासँग सम्बन्धित छानबिन समितिले कारबाही सिफारिस गरेको हो। 

उक्त छानबिन समितिले रवि लामिछाने, नख्खुका जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकाललाई समेत शंकाको घेरामा राखेको हो। उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको हो।

‘रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभाति लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएको तत्कालीन सांसद तथा रास्वपाका जिम्मेवार नेताहरू मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्नू,’ आयोगले भनेको छ।

भदौ २३ गते जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि भदौ २४ गते देशैभरि आन्दोलन चर्किएको थियो। त्यसक्रममा कारागारहरूमा समेत आन्दोलन भएको हो। नख्खु कारागारबाट त्यतिबेला रवि लामिछाने निस्किएका थिए। पछि उनी फेरि नख्खु कारागारमा पुगेका थिए।

जोशीले आयोगसँग बयान गर्दा लामिछानेकै सहयोगी र समर्थकको दबाबमा उनलाई छाड्न भनेर डर, त्रास र धम्कीको दबाब बीच पत्रमा हस्ताक्षर गरेको भन्ने बयान दिएका थिए। लामिछानेले भने कारागारले सुरक्षा गर्न नसक्ने अवस्था देखेकाले जेलरले बोलाएर छाडेपछि जेलको सुरक्षा हुन्छ भनेको भनेर बयान दिएका छन्। कैदीलाई कारागारबाट बाहिर पठाउन सहयोग गरेको भन्दै आयोगले लामिछाने र जेलर जोशीलाई मानव अधिकार उल्लंघनमा संलग्नता देखिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट