चितवन : चितवन प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने १ जना तथा अनलाइन स्क्याम (ठगी) मा संलग्न तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएको हो।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास घर भई हाल चितवनको रत्ननगर नगरपालिका–१० अनामनगर बस्ने ३६ वर्षीय शिशिर गौतमलाई क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा पक्राउ गरिएको हो। उनले मोबाइलमार्फत आइएक्स बेटबाट सट्टेबाजी तथा विनेन्सी मार्फत अभौतिक मुद्रा कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले मंगलबाररत्ननगर–९ स्थित बकुलहर चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एन्ड्रोइड मोबाइल १ थान, विभिन्न बैंकका ६ वटा एटीएम कार्ड र नगद ४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। उनीमाथि जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ। त्यस्तै, अनलाइन लगानीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न व्यक्तिलाई टेलिग्राममार्फत सम्पर्क गरी “कस्टमर सर्भिस एप फाइनान्स” को नाममा लगानी गर्न लगाई विभिन्न बैंक खाताको क्यूआर कोड पठाएर रकम जम्मा गर्न लगाएको आरोप छ ।
प्रहरीका अनुसार पीडितबाट १२ लाख ९७ हजार १५१ रुपैयाँ ठगी भएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका–४ बस्ने २६ वर्षीय रोशन मुसलमान, सोही स्थानका २४ वर्षीय रुस्तम अन्सारी तथा पाल्हीनन्दन गाउँपालिका–३ बस्ने २७ वर्षीय आजाम अली अन्सारी रहेका छन्। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij