काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गरिरहेको उच्चस्तरीय समितिले प्रतिवेदन तयार गर्न थप पाँच दिन समय माग गरेको छ। सरकारले दिएको म्याद सोमबार सकिए पनि प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेकाले समितिले म्याद थपका लागि सरकारलाई पत्राचार गरेको हो। समितिले गत सातामै गुरुङको बयान लिइसकेको छ भने उनीसँग सम्बन्धित विभिन्न विवादका विषयमा आवश्यक कागजात र प्रमाणहरू संकलन गरेको थियो। अनुसन्धानका क्रममा थप केही प्रमाण आवश्यक देखिएपछि सम्बन्धित निकायहरूलाई पुनः पत्राचार गरिएको भए पनि सबै विवरण अझै प्राप्त नभएको समितिले जनाएको छ।
गुरुङमाथि उठेका आरोपहरूको छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्। समितिले गुरुङसँग जोडिएका सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट आबद्ध कम्पनीको शेयर स्वामित्व, हदबन्दीभन्दा बढी जग्गा स्वामित्व तथा अन्य विवादित जग्गासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ।
गृहमन्त्री रहँदा विभिन्न विवादमा तानिएका गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। चैत १३ गते गृहमन्त्री नियुक्त भएका उनी सम्पत्ति विवरण सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा परेका थिए। सरकारले गुरुङमाथि उठेका सबै प्रश्नको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिएको छ। समितिले बुधबारदेखि प्रतिवेदन लेखन कार्य सुरु गरे पनि काम सम्पन्न हुन नसकेकाले थप समय माग गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij