काठमाडौं : टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारी विरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरले थुनामा पठाउन आदेश दिएको छ । बिहीबार सरकारी पक्षको जवाफी बहस र प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसपछि थुनछेक बहस भएको थियो ।
सम्पूर्ण बहस सकिएपछि सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दामा पक्राउ परेकी तुल्सालाई ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौं ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।
एक व्यवसायीले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्। अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी अभियोजन पक्षको छ। उनी २०८२ भदौयता फरार रहेको र चीन हुँदै थाइल्यान्ड पुगेको अवस्थामा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ परेकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij