काठमाडौं : सार्वजनिक स्थानदेखि किराना पसल, सार्वजनिक सवारी साधन तथा स्टार होटलसम्म व्यापक प्रचारप्रसार गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंक्समाथि राजश्व छलीको आरोप लागेको छ । स्वास्थ्यका लागि उपयुक्त नभएको भन्दै चिकित्सकहरूले पटक–पटक चेतावनी दिँदै आए पनि उक्त पेय पदार्थ बजारमा व्यापक रूपमा बिक्री वितरण भइरहेको छ।
आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन तथा विभिन्न उपहार योजनामार्फत विशेषगरी युवा र बालबालिकालाई लक्षित गर्दै आएको एक्सट्रिमले पछिल्लो समय ‘स्क्यानमा छ सुन’ र ‘वर्ल्ड कप एक्सट्रिम इनर्जी ड्रिंक फ्यान’ जस्ता प्रचार अभियान सञ्चालन गर्दै आएको छ। यस्ता योजनामार्फत उपभोक्तालाई आकर्षित गरिए पनि उत्पादनको स्वास्थ्य प्रभाव र व्यावसायिक पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन्।
यसैबीच, काभ्रेपलाञ्चोकको बनेपामा राजश्वसम्बन्धी आवश्यक प्रक्रिया पूरा नगरी बिक्री वितरणका लागि राखिएको एक्सट्रिम इनर्जी ड्रिंक्स फेला परेको स्रोतले जनाएको छ। उक्त घटनापछि कम्पनीले राजश्व छली गर्दै आएको हुनसक्ने आशंका बलियो बनेको छ।
स्वास्थ्य विज्ञहरूले अत्यधिक क्याफिन र चिनीको मात्रा भएका इनर्जी ड्रिंक्सको अनियन्त्रित सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। यद्यपि, यस्ता चेतावनीबीच पनि एक्सट्रिमले आक्रामक बजार विस्तार जारी राखेको देखिन्छ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ भने राजश्व छली तथा उपभोक्ता हितविपरीतका गतिविधि पुष्टि भए कानुनी कारबाही हुन सक्ने बताइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij