Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। घटना भएको करिब १० दिनपछि प्रहरीले मुख्य आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान टुंगो लगाएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका करिब ३० वर्षीय भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी काम गर्दै आएका थिए। अनुसन्धानका क्रममा मृतक तिवारी र आरोपितबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानबाट घटनाअघि दुवैबीच आर्थिक विषयलाई लिएर विवाद भएको देखिएको प्रहरीले जनाएको छ। सोही विवादका क्रममा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेको निष्कर्ष प्रहरीको छ। हत्यापछि घटनालाई लुकाउन शवलाई मोटरसाइकलमार्फत दमक–१० स्थित रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको जनाएको छ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि प्रहरीले प्राविधिक विश्लेषण, मोबाइल फोनको विवरण तथा स्थानीय सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो। शवको पहिचान भएपछि अनुसन्धान थप तीव्र बनाइएको थियो। जिल्ला प्रहरी कार्यालय झापाले केहीबेरमा पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका व्यक्तिको परिचय तथा अनुसन्धानबाट खुलेका थप तथ्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट