Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

खगेरी खोलामा अवैध उत्खनन: २० टिपर नियन्त्रणमा

खगेरी खोलामा अवैध उत्खनन: २० टिपर नियन्त्रणमा

चितवन : जिल्ला अनुगमन समितिको निर्देशन अवज्ञा गर्दै खगेरी खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले २० वटा टिपर नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा रहेको अनुगमन समितिले बुधबार खगेरी खोला क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा सम्झौताअनुसार तोकिएको परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकाल्दै तत्काल उत्खनन तथा ढुवानी रोक्न निर्देशन दिइएको थियो।

तर समितिको निर्देशनलाई बेवास्ता गर्दै केही व्यवसायी तथा चालकहरूले उत्खनन र ढुवानी कार्य जारी राखेको पाइएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो। प्रहरीका अनुसार निर्देशनविपरीत ढुंगा, गिट्टी र बालुवा ओसारपसार गरिरहेका २० वटा टिपरलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। ती सवारी साधनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पदमपुर प्रहरी बिटमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले नदीजन्य पदार्थ उत्खनन गर्दा स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन र सम्झौताका शर्तहरूको पूर्ण पालना अनिवार्य रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहाव, जैविक विविधता तथा आसपासका बस्तीमा असर पर्ने गरी जथाभावी उत्खनन गर्न नदिइने स्पष्ट पार्नुभयो। अनुगमनका क्रममा निर्धारित परिमाणभन्दा बढी उत्खनन भएको हुनसक्ने विषयमा थप अध्ययन भइरहेको प्रशासनले जनाएको छ। अध्ययन प्रतिवेदनपछि आवश्यक कानुनी कारबाही अघि बढाइने बताइएको छ।

यसैबीच, स्थानीयवासीहरूले खगेरी खोलामा बढ्दो उत्खननका कारण नदीको स्वरूप परिवर्तन, कटानको जोखिम वृद्धि र वातावरणीय सन्तुलनमा असर परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले अवैध उत्खननमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले नियम उल्लंघन गर्ने जोसुकैमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै अनुगमन समितिको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij