इनरुवा : सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने लौकही नाका पछिल्लो समय अवैध चोरी–पैठारीको प्रमुख मार्ग बन्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। भारतसँग जोडिएको खुला सीमाको फाइदा उठाउँदै विभिन्न तस्करी समूह सक्रिय भएको आरोप लागिरहेको छ। स्थानीय स्रोतका अनुसार दिनको समयमा नाका क्षेत्र सामान्य देखिए पनि साँझपछिदेखि रातिको समयमा चिनी, पेय पदार्थलगायत विभिन्न उपभोग्य सामग्री अवैध रूपमा नेपाल भित्र्याउने गतिविधि बढ्दै गएको छ। नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीको निगरानी कमजोर भएका कारण तस्करी गतिविधि सहज बनेको स्थानीयको दाबी छ।
सुनसरी जिल्लामा करिब ६२ किलोमिटर खुला सीमा क्षेत्र रहेकामा लौकही क्षेत्रलाई अवैध चोरी–पैठारीका दृष्टिले संवेदनशील मानिन्छ। पछिल्लो समय यस क्षेत्रबाट दैनिक लाखौं रुपैयाँ बराबरका सामान भन्सार छली नेपाल भित्रिने गरेको स्थानीयवासीको आरोप छ। दुई दिनअघि भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ठूलो परिमाणमा चिनी तथा पेय पदार्थ बरामद गरिएको घटनापछि उक्त सामान लौकही नाका हुँदै भित्रिएको हुनसक्ने आशंका पनि गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन।
स्थानीयवासीले रातको समयमा खुलेआम सामान ओसारपसार हुने गरेको तर नियन्त्रणमा प्रभावकारी कदम नदेखिएको गुनासो गरेका छन्। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिकामाथि समेत प्रश्न उठ्दै छ भने छानबिनको माग गरिएको छ। यसैबीच, यस्ता आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। सीमा क्षेत्रमा बढ्दो चोरी–पैठारीले राज्यको राजस्वमा असर पार्नुका साथै स्थानीय बजारमा समेत प्रभाव पार्न थालेको भन्दै कडाइका साथ निगरानी र नियन्त्रण गर्न माग गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij