Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने आरोपमा दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने आरोपमा दम्पती पक्राउ

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका–३ स्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नाममा कार्यालय सञ्चालन गरिएको थियो। उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने भन्दै ठगी गरिएको आरोप लागेको छ।

प्रहरी अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरीका काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको जनाएको छ। साथै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम नतिरेको आरोप समेत लागेको छ। घरधनीबाट प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले आरोपितले आफैं सरकारी कागजात, छाप तथा नियुक्तिपत्र तयार गरी प्रयोग गरेको तथ्य फेला परेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट