चितवन : निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा हटेपछि भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। भरतपुर अस्पतालमा साता भर दैनिक करिब ३ हजार हाराहारी बिरामी बहिरंग सेवा लिन आउने गरेका छन्। सोमबार मात्र ३ हजार १८७ बिरामी आएकोमा २ हजार ३२३ जना बिमाका थिए। अस्पतालमा बिरामीको संख्या १५ प्रतिशतभन्दा बढीले बढेको र व्यवस्थापनमा कठिनाइ भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु वाग्लेले बताउनुभयो।
अस्पतालले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिँदै आए पनि भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। अस्पतालले टिकट संख्या व्यवस्थापन र सेवा दुई सिफ्टमा सञ्चालन गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।
यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि दैनिक बिरामी संख्या ८५० बाट बढेर १ हजार २०० पुगेको छ। चाप बढेसँगै केमोथेरापी सेवामा समेत समस्या देखिएको छ भने दर्जनौँ बिरामी शैय्या अभावमा उपचार पर्खिन बाध्य छन्। अस्पताल प्रशासनले काउण्टर विस्तार र जनशक्ति व्यवस्थापनको प्रयास गरिरहेको जनाएको छ। देशभर तथा सीमावर्ती क्षेत्रबाट समेत बिरामी आउने भएकाले सेवा व्यवस्थापन थप जटिल बनेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij