काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले मंसिर १७ देखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्ताराष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ।
आइतवार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्धन र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए।
उनका अनुसार व्यापार मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानसहित विभिन्न देशका व्यवसायीलाई आमन्त्रण गरिएको छ। उनले मेलामा स्वदेशी तथा विदेशी हस्तकला, कृषि उत्पादन, पर्यटन, सूचना प्रविधि, ऊर्जा, भवन तथा निर्माण सामग्री, व्यावसायिक सूचना र शिक्षासम्बन्धी छुट्टाछुट्टै २ सय वटा स्टल राखिने जानकारी दिए।
उनले यो वर्ष मेलामा स्वदेशी तथा विदेशी गरी करिब एक लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको बताए। उनले नेपालका विभिन्न जिल्लामा आयोजना भएका व्यापार मेलाका उत्कृष्ट स्टल तथा उत्पादनलाई समेत अन्ताराष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिए।
श्रेष्ठले भने, ‘व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्धन र व्यावसायिक सम्बन्ध विकास गर्न उद्देश्यले हामीले नेपाल अन्ताराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएका छौँ। योपटकको मेलामा २ सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिनेछ। मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायतका देशहरू सहभागी हुनेछन्।’
नेपालमा अन्ताराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्ताराष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र विकासमा मेलाले टेवा पुगाउने महासंघको विश्वास छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij