Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

अमेरिका–इरानबीच सैन्य कारबाही अन्त्य गर्ने सहमति, स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

अमेरिका–इरानबीच सैन्य कारबाही अन्त्य गर्ने सहमति, स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

बीबीसी : अमेरिका र इरानले आपसी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन्। लामो समयदेखि जारी तनाव र संघर्षलाई अन्त्य गर्ने उद्देश्यसहित दुवै पक्षबीच प्रारम्भिक समझदारी बनेको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि शान्ति सम्झौता भएको पुष्टि गर्दै लेबननसहित सबै मोर्चामा जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको जानकारी दिएका छन्। उनका अनुसार उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर गरिनेछ।

इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्। उनका अनुसार कतारको प्रतिनिधिमण्डलको मध्यस्थतामा तेहरानमा लामो छलफलपछि प्रारूपलाई अन्तिम रूप दिइएको हो। सम्झौताको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता कार्यान्वयनपछि तेल आपूर्ति पुनः सुरु हुने बताएका छन्। उनले स्ट्रेट अफ होर्मुज जलमार्ग प्रयोगमा कुनै शुल्क नलाग्ने व्यवस्था हुने दाबीसमेत गरेका छन्।

सम्झौता कार्यान्वयनमा आए विश्व बजारमा तेल र प्राकृतिक ग्यास आपूर्ति सहज हुने तथा ऊर्जा संकटको जोखिम घट्ने अपेक्षा गरिएको छ। घोषणा पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको बताइएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल करिब ८३ डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ। इरानी सञ्चार माध्यमका अनुसार ६० दिनभित्र अन्तिम वार्ता सम्पन्न गर्ने सहमति भएको छ भने सामुद्रिक नाकाबन्दी ३० दिनभित्र अन्त्य गर्ने तयारी गरिएको छ।

यसअघि अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेका थिए, जसको जवाफमा इरानले पनि खाडी क्षेत्रमा आक्रमण र होर्मुज जलमार्ग बन्द गरेको रिपोर्ट आएको थियो। पछिल्ला घटनाक्रमसँगै अब जलमार्ग पुनः खुल्ने अपेक्षा गरिएको छ। अमेरिका र इरानबीचको यो नयाँ सहमतिले मध्यपूर्वमा दशकौँदेखिको तनाव कम गर्ने सम्भावना देखिएको छ, यद्यपि पूर्ण विवरण र कार्यान्वयन प्रक्रिया अझै प्रतीक्षामा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट