Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गयो

बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गयो

आदिस अबाबा : उत्तरी इथियोपियामा सोमबार भएको भीषण बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएका छन्। बस सडकबाट चिप्लिएर करिब १०० मिटर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो।

स्थानीय अधिकारीहरूका अनुसार अम्हारा क्षेत्रको डेसी सहरबाट राजधानी आदिस अबाबातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो। दुर्घटनापछि उद्धार कार्य तत्काल सुरु गरिएको र घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको जनाइएको छ। अधिकारीहरूले सामाजिक सञ्जालमार्फत २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने सार्वजनिक गरिएको छैन।

दुर्घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा खोलामा पल्टिएको बस पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा देखिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। इथियोपियामा कमजोर सडक पूर्वाधार, सवारी साधनको प्राविधिक अवस्था तथा सडक सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

यसअघि सन् २०२४ डिसेम्बरमा दक्षिणी इथियोपियामा विवाह समारोहमा सहभागी यात्रु बोकेको गाडी नदीमा खस्दा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यस्तै, गत वर्षकै सेप्टेम्बरमा वोलाइटा क्षेत्रमा भएको अर्को बस दुर्घटनामा २८ जनाको ज्यान गएको थियो। पछिल्लो घटनाले इथियोपियामा सडक सुरक्षाको अवस्था र सार्वजनिक यातायात व्यवस्थापनप्रति पुनः गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट