Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भन्सार प्रक्रिया कानुनसम्मत ठहरिएपछि मुस्ताङदेखि हेम्जासम्म रोकिएका सबै ईभी छुटे

भन्सार प्रक्रिया कानुनसम्मत ठहरिएपछि मुस्ताङदेखि हेम्जासम्म रोकिएका सबै ईभी छुटे

काठमाडौं : मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय (ईभी) गाडीहरू छानबिनपछि सरकारले छाडिदिएको छ। भन्सार छलीको आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ती गाडीहरूमा कुनै कैफियत नदेखिएपछि आयातकर्ता कम्पनीलाई जिम्मा लगाइएको हो।

सशस्त्र प्रहरी बलले राजस्व चुहावट भएको हुन सक्ने आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जा लगायतका स्थानमा ती गाडीहरू रोकेर राखेको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार अर्थ मन्त्रालयको अनुरोधमा नियन्त्रणमा लिइएका गाडीहरू छानबिन सम्पन्न भएपछि सम्बन्धित आयातकर्ता कम्पनीलाई बुझाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय संयुक्त छानबिन समिति गठन गरिएको थियो। समितिले गाडीहरूको भन्सार प्रक्रिया तथा कागजातको सूक्ष्म अध्ययन गर्दा कुनै अनियमितता नभेटिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

छानबिन टोलीले मुस्ताङ पुग्नुअघि विभिन्न स्थानमा रोकिएका गाडीहरूको स्थलगत निरीक्षण समेत गरेको थियो। टोलीले कास्कीको हेम्जामा रोकिएका ९८ वटा, पर्वतको कुश्मामा रहेका १७ वटा तथा कोरला नाकाबाट भन्सार जाँच पास भई लोमान्थाङ हुँदै जोमसोम पुगेका २६६ वटा ईभीको अवस्था र कानुनी कागजातको अध्ययन गरेको थियो।

समितिले सबै प्रक्रिया नियमसंगत र कानुनसम्मत रहेको निष्कर्ष निकालेपछि हेम्जा, बेनी र मुस्ताङका विभिन्न स्थानमा रोकिएका सबै गाडीहरू गन्तव्यतर्फ पठाइएको छ। ती सबै गाडी चिनियाँ कम्पनी बीवाईडी (BYD) का विद्युतीय सवारी साधन रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट