चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजामा दिइएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि होटेलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
गृहमन्त्री गुरुङ चितवनस्थित लड्स प्लाजा होटलमा बस्दै आएका थिए। बिहान खाजा खाने क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि उनले होटल व्यवस्थापनसँग असन्तुष्टि जनाएका थिए। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई जानकारी गराइएको थियो।
प्रहरी स्रोतका अनुसार घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट टोली होटल पुगेको थियो। टोलीले अम्लेट तयार पार्ने दुई कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछका लागि प्रहरी कार्यालय ल्याएको थियो।
घटनाबारे प्रतिक्रिया दिँदै एसपी पौडेलले ग्राहकलाई दिइएको खानामा अखाद्य वस्तु भेटिएको विषयमा तथ्य बुझ्नका लागि सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए। उनले प्रारम्भिक अनुसन्धान पूरा भएपछि आवश्यक प्रक्रिया अनुसार उनीहरूलाई छाडिने पनि जानकारी दिए।
घटनाले महाधिवेशन चलिरहेका बेला चितवनमा केही समय चर्चा पाएको थियो भने होटल व्यवस्थापनले पनि घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij