चितवन : भरतपुर महानगरपालिकाले मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनलाई प्रभावकारी बनाउन बिहीबार सरोकारवाला निकायहरूसँग एकदिने अभिमुखीकरण, समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सुर्तीजन्य पदार्थ र मदिराको प्रयोगले मानव स्वास्थ्य, समाज र अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ तथा मदिरा ऐन, २०३१ मा भएका व्यवस्थाबारे समेत सहभागीलाई अवगत गराइएको थियो। कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार सुर्तीको धुवाँमा ७ हजारभन्दा बढी रसायन पाइन्छन्, जसमध्ये कम्तीमा २५० मानव स्वास्थ्यका लागि हानिकारक र ६९ वटा क्यान्सर गराउने तत्व रहेका छन्। विश्वभर हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ७० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत वयस्कले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो। पुरुषमा यो दर ४८.३ प्रतिशत र महिलामा ११.६ प्रतिशत रहेको छ। धूम्रपान गर्ने एक व्यक्तिले मासिक औसत १५१ खिल्ली चुरोट सेवन गर्ने तथा करिब एक हजार ४९ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांकमा उल्लेख छ।
कार्यक्रममा ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ अर्थात् परोक्ष धूम्रपानका कारण धूम्रपान नगर्ने व्यक्तिहरू समेत मुटुरोग, पक्षघात, फोक्सोको क्यान्सर लगायतका रोगको जोखिममा पर्ने जानकारी दिइयो। बालबालिकामा श्वासप्रश्वाससम्बन्धी संक्रमण, दम तथा अन्य स्वास्थ्य समस्या बढ्ने खतरा रहने बताइएको थियो। सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालमा लागू भएका ऐन, नियमावली, निर्देशिका तथा विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण महासन्धिअनुसार विद्यालय, सरकारी कार्यालय, अस्पताल, सार्वजनिक सवारीसाधन, होटल, रेष्टुरेन्ट, धार्मिक स्थल लगायतका सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको जानकारी गराइयो। त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने, चुरोट तथा बिँडी फुटकर बिक्रीमा रोक, विज्ञापन तथा प्रायोजनमा प्रतिबन्ध लगायतका कानुनी व्यवस्थाबारे समेत छलफल गरिएको थियो। कार्यक्रममा मदिरा सेवनको अवस्थाबारे पनि चर्चा गरिएको थियो।
नेपाल स्टेप्स सर्वेक्षण २०१९ अनुसार १५–६९ वर्ष उमेर समूहका २३.९ प्रतिशत वयस्कले पछिल्लो १२ महिनामा मदिरा सेवन गरेको पाइएको छ। पुरुषमा यो दर ३८.६ प्रतिशत तथा महिलामा १०.८ प्रतिशत रहेको छ। सर्वेक्षणले मदिरा सेवन र सडक सुरक्षाबीचको सम्बन्ध पनि उजागर गरेको छ। पछिल्लो ३० दिनमा १७.२ प्रतिशत चालकले सवारी चलाउनुअघि मदिरा सेवन गरेको तथा ८.९ प्रतिशत व्यक्तिले मदिरा सेवन गरेका चालकको सवारीमा यात्रा गरेको तथ्यांक प्रस्तुत गरिएको थियो। महानगरपालिकाले सुर्तीजन्य पदार्थ र मदिराको प्रयोग न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा सरोकारवाला निकायबीच समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।