काठमाडाैं : गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका सीमा नाकाहरूमा आकस्मिक तथा अनौपचारिक अनुगमन गरेका छन्। शुक्रबार साँझ मधेस प्रदेश पुगेका मन्त्री गुरुङको आगमन र गतिविधिबारे सुरक्षा निकायलाई समेत पूर्ण जानकारी नभएको पाइएको छ।
मन्त्री गुरुङको बसाइबारे सुरक्षा निकायले स्पष्ट जानकारी नपाएपछि उनी कहाँ बसे भन्ने विषयमा समेत अन्योल देखिएको थियो। शनिबार बिहान सिमरा विमानस्थल हुँदै काठमाडौँ फर्किने सूचना पाएपछि मात्र बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका थिए।
बरामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार मन्त्री गुरुङ अनौपचारिक अनुगमनका लागि आएको र सिमरा एयरपोर्टमा प्रजिअ तथा सुरक्षा प्रमुखहरूसँग संक्षिप्त भेटघाट भएको थियो।
अनुगमनका क्रममा मन्त्री गुरुङले पर्साको जगरनाथपुर गाउँपालिकास्थित सीमावर्ती क्षेत्र जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाको स्थलगत निरीक्षण गरेका थिए। उनले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा थप कडाइ गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
स्थानीयसँगको संवादका क्रममा सीमावर्ती क्षेत्रमा भन्सार छलेर साइकलमार्फत ठूलो मात्रामा सामान ओसारपसार हुने गरेको गुनासो आएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा स्थानीयले “राति सयौँ साइकल सामान आउँछ, रोकिँदैन” भन्ने गुनासो गरेका छन्।
मन्त्री गुरुङले पनि स्थानीयसँग संवाद गर्दै तस्करीको स्वरूपबारे प्रश्न गरेका थिए। उनले “थोरै–थोरै गरी आउँछ कि ठूलो मात्रामा?” भन्दै जानकारी लिएका थिए।
सीमा क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा कसले निगरानी गर्छ भन्नेबारे पनि मन्त्रीले चासो राखेका थिए। स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (BOP) ले सीसीटीभी निगरानी गर्ने र गतिविधि रेकर्ड हुने जानकारी दिएका थिए।
शनिबार साँझ ५ बजे गृहमन्त्री गुरुङ सिमरा विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij