काठमाडौं : शिव शिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेड र तुलसी बहुउद्धेश्यि सहकारी संस्था लिमिटेडको अर्बौैं रुपैयाँ बचत रकम अपचल गरेको अभियोगमा सञ्चालक केदारनाथ शर्मा हाल थुनामा छन्। उनीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धिकरण मुद्धा अदालतमा चलिरहेको छ।
यता केदारनाथ शर्माका दुई कम्पनीले सरकारलाई ११ करोड ७७ लाख रुपैयाँ बढी कर बुझाउन बाँकी रहेको छ। ठूला करदाता कार्यालयले आय करको संशोधित, अग्रिम कर कट्टी तथा मूल्य अभिवृद्धि कर (भ्याट) को प्रारम्भीक कर निर्धारण गरी चुक्ता गर्न आउन भनेको छ। कर कार्यालयले शर्माको शिखरदिप एग्रो प्रालिले आर्थिक वर्ष ०७८०७९ मा १७ करोड १९ लाख २३ हजार रुपैयाँ करयोग्य आम्दानी निर्धारण गरेको छ। जसअनुसार कम्पनीले ५२ लाख २६ हजार ६५१ रुपैयाँ अग्रिम कर कट्टी निर्धारण गरेको छ। यस्तै कम्पनीले भ्याटवापत एक करोड १६ लाख ६० हजार रुपैयाँ तिर्न बाँकी रहेको कार्यालले जनाएको छ।
यस्तै शर्माको स्वामित्वमा रहेको शिव शिखर एग्रो प्रालिले आर्थिक वर्ष ०७८/०७९ मा २५ करोड ४८ लाख ५९ हजार हजार रुपैयाँ करयोग्य आम्दानी निर्धारण गरेको छ।
जसअनुसार शिव शिखर एग्रोले अग्रिम कर कट्टीवापत ५१ लाख ६७ हजार र भ्याट नौ करोड ५७ लाख २२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। उपलब्ध भएको प्रमाणका आधारमा कर परीक्षण सम्पन्न गरी उक्त रकम निर्धारण गरेको कार्यालयले जनाएको छ। यदी कर निर्धारण गर्नुनपर्ने कुनै ठोस प्रमाण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उपस्थित भइ लिखित जवाफसहित प्रमाण पेश गर्न कार्यालयले भनेको छ। यदी नआएमा कार्यालयले गरेको संशोधित अन्तिम कर निर्धारण हुने जानकारी दिएको छ।
२३ अर्ब ठगी मुद्धा, शर्मा थुनामा
शिव शिखर सहकारी र तुलसी बहुउद्धेशिय सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा शर्मा हाल हिरासतमा छन।शर्माविरुद्ध २३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरणमा हालसम्मकै ठूलो मुद्दा हो। दुई सहकारीको गरी शर्माले ११ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना गरेको दावी गरिएको छ। शिव शिखरको नौ अर्ब ६४ करोड र तुलसीको एक अर्ब ६५ करोड बचत हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। केदारनाथ शर्मा आबद्ध भएका विभिन्न कम्पनीको सम्पत्ति नौ अर्ब ५९ करोड र सहकारी ठगी गरेको ११ अर्ब ४६ करोडलाई मुख्य बिगो बनाइएको छ ।
यसबाहेक उनीकी श्रीमती सञ्चालक रहेको कम्पनीबाट लगानी गरेको ५२ करोड, नेपाल एसबिआई बैंकले लिलामी गरेको एक अर्ब २५ करोड र उनले मेनपावर कम्पनी तथा भारतमा लगानी गरेको पाँच करोड ४० लाख रुपैयाँ जोडेर २२ अर्ब ८८ करोड बिगो कायम गरिएको छ।
शिव शिखर र तुलसी सहकारीमार्फत सर्वसाधारणलाई अर्बौं रुपैयाँ ठगी गरेका शर्माविरुद्ध २०८१ साउन ३२ मा २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको हो। सहकारीको पैसा गैरकानुनी रूपमा ती कम्पनीमा लगानी गरेर सम्पत्ति शुद्धीकरण गरिएको आधारमा मुद्दा दायर गरिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दामा नौ सञ्चालक र २१ कम्पनीलाई प्रतिवादी बनाइएको छ।
शर्माकी श्रीमती गीता शर्मालाई ५२ करोड ३३ लाख रुपैयाँको बिगो कायम गरिएको छ। केदारनाथ र गीता दुवै सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि हाल कारगारमा छन्।
शिव शिखरका अध्यक्ष सुशील बानियाँलाई पाँच अर्ब ४८ करोड ४५ लाख बिगो कायम गरिएको छ । उनको नाममा बाँकेको चट्टारमा रहेको जग्गा पनि जफतको माग गरिएको छ।
शिव शिखरकै सचिव तेजबहादुर तामाङलाई ७१ करोड नौ लाख १८ हजार, तुलसी सहकारीकी व्यवस्थापक सविना न्यौपानेलाई एक करोड २४ लाख, तुलसी सहकारीकै कर्मचारी मन्दीप खवासलाई २० लाख, संस्थाका सदस्य तथा शिखर अर्गनाइजेसनका प्रवन्धक पुष्कर मल्लको हकमा १० करोड ६३ लाख २२ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
सहकारीका व्यवस्थापक लीलानाथ गौतमको हकमा पाँच करोड ४८ लाख ४५ हजार बिगो कायम गरिएको छ । मन्दीप खवास, सविना न्यौपाने र शिव शिखरका कर्जा अधिकृत मुकुन्द कपालीको नाममा शर्माले सहकारीको पैसाबाट सम्पत्ति जोडेको अभियोग लगाइएको छ।
दुई सहकारीको बचत रकम लगानी गरिएका कम्पनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । शिव शिखर एग्रो, शिखरदीप फुड, शिखरदीप एग्रो (काठमाडौं), गोरखा टी एन्ड कफी, शिखर मेसिनरी, नटराज एग्रो, गार्डेन मार्ट, तुलसी फुड इन्डस्ट्रिज, उपकार गार्मेन्ट कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
त्यस्तै, हिमालयन लायन कन्स्ट्रक्सन, तुलसी मोटर पम्प, तुलसी कृषि अनुसन्धान प्रालि, गोरखा वेभरेज, उपकार मिठिया, शिखर अर्गनाइजेसन, होटेल पोप लाइफ, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एन्ड आयल, टेक्नो डोन, डिजिटल शिखर, त्रिदेवी फुड इन्डस्ट्रिज र शिखर स्पाइस एड फ्रुट इन्डस्ट्रिजविरुद्ध पनि मुद्दा चलेको छ । यी कम्पनीहरूमा केदारनाथ र उनका श्रीमति गीता तथा सहकारीका केही सञ्चालकको लगानी भएको पाइएको छ।
शिव शिखर सहकारीले देशैभरि शाखा विस्तार गरी अर्बों रुपैयाँ जनताको पैसा उठाएर ठगी गरेको छ । सहकारी सञ्चालक तथा व्यवस्थापकविरुद्ध काठमाडौं, भक्तपुर, डडेल्धुरा, कैलाली, रूपन्देही, कास्की, बागलुङ, म्याग्दी, चितवन, मकवानपुर, कञ्चनपुर, सुर्खेत र बाँकेमा ठगी मुद्दा दायर भएको छ।
सबैभन्दा धेरै भक्तपुरमा एक अर्ब ७६ करोड, काठमाडौंमा ७८ करोड, बाँकेमा ७४ करोड, चितवनमा ६६ करोड, कास्कीमा ५४ करोड, डडेल्धुरामा ४० करोड, बागलुङमा ३४ करोड रुपैयाँबराबरको मुद्दा दायर भइसकेको छ ।
त्यस्तै, कञ्चनपुरमा ३२ करोड, मकवानपुरमा २४ करोड, रूपन्देहीमा ६ करोड, सुर्खेतमा नौ करोड, म्याग्दीमा चार करोड र कैलालीमा ९६ लाख रुपैयाँबराबरको मुद्दा दायर भएको छ ।
शर्मा नै अध्यक्ष रहेको तुलसी सहकारीविरुद्ध मोरङ, झापा र उदयपुरमा गरी ४० करोड ७० लाख रुपैयाँबराबरको अर्को मुद्दा छ ।
२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो। उनले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए। तर संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए।
संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij