काठमाडौं : पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार देशभर डेंगु संक्रमणको अवस्था चिन्ताजनक बन्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार गत पुस १७ गतेदेखि हालसम्म एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
इडीसीडीका अनुसार पछिल्लो छ महिनाको अवधिमा डेंगु संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । साथै, देशका ७७ जिल्लामध्ये हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।
महाशाखाले संक्रमण फैलावट बढ्दै गएको भन्दै उच्च सतर्कता अपनाउन तथा लामखुट्टे नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । विशेषगरी वर्षायाम सुरु भएसँगै डेंगुको जोखिम अझ बढ्न सक्ने भएकाले व्यक्तिगत सरसफाइ, पानी जम्न नदिनु र सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । डेंगु संक्रमणका केसहरू विभिन्न जिल्लामा देखिन थालेपछि स्थानीय तह र स्वास्थ्य निकायहरूलाई रोकथाम तथा नियन्त्रणका कार्यक्रम थप सशक्त बनाउन निर्देशन समेत दिइएको छ ।