पोखरा : कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ११२.५३ ग्राम खैरो हेरोइनसहित लागुऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले असार १७ र १८ गते सञ्चालन गरेको विशेष अभियानका क्रममा तीन जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० का ३८ वर्षीय रुम बहादुर थापा, सोही स्थानका ३७ वर्षीय गोबिन्द थापा तथा बाँकेको कोहलपुर नगरपालिका–१४ का ३२ वर्षीय सुरज सुनार रहेका छन्।
प्रहरीका अनुसार पोखरा–१५ स्थित Sonam Snooker House सञ्चालन गर्दै आएका दाजुभाइ गोबिन्द थापा र रुम बहादुर थापाले स्नुकर हाउसको आवरणमा लागुऔषध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले स्नुकर हाउसमा कार्यरत सुरज सुनारलाई भारतको काँकडभिट्टा नाकापारि पानीट्याङ्की क्षेत्रबाट खैरो हेरोइन खरिद गर्न पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गोबिन्द थापा यसअघि पनि लागुऔषध कारोबार मुद्दामा दोषी ठहर भई ३० महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेको अभिलेखसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट ११२.५३ ग्राम खैरो हेरोइन, आइफोन १३ प्रो म्याक्ससहित पाँच थान मोबाइल, दुई थान डिजिटल तराजु र ६ लाख ७ हजार रुपैयाँ नगद बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले सौराहा अनलाइनलाई जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij