काठमाडौं : काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले सम्हालेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सरुवा गर्ने निर्णय गरेपछि शुक्रबार उनले कार्यालयमा हाजिर भई औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्। यसअघि उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालिरहेका एआईजी ईश्वर कार्कीले राठौरलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका छन्। कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ।
एआईजी राठौर यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। सरकारको निर्णयसँगै उनी देशकै संवेदनशील सुरक्षा जिम्मेवारीमध्ये एक मानिने काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा नियुक्त भएका हुन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको एकैपटक सरुवा गरेको थियो। सोही निर्णयअनुसार अपराध अनुसन्धान विभागमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजी मनोज केसीलाई ल्याइएको छ भने सीआईबीको नेतृत्व एआईजी उमाप्रसाद चतुर्वेदीलाई दिइएको छ।
यस्तै, मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धिविक्रम शाह प्रदेश समन्वय विभागमा गएका छन् भने प्रदेश समन्वय विभागका एआईजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन्। प्रशासन विभागमा रहेका एआईजी हिमालयकुमार श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीको उच्च नेतृत्व तहमा गरिएको यस सरुवालाई संगठनको कार्यसम्पादन, व्यवस्थापन तथा जिम्मेवारी पुनः वितरणको नियमित प्रक्रियाका रूपमा हेरिएको छ।