चितवन : चितवनमा आधारित दुग्ध उद्योग Delish Dairies Pvt Ltd बको “डेलिश” ब्रान्ड अन्तर्गत उत्पादित बटरमा ढुसी भेटिएको भन्दै उपभोक्ताले गम्भीर गुणस्तर सम्बन्धी प्रश्न उठाएका छन्।
घटनाले बजारमा बिक्री हुने दुग्धजन्य पदार्थको सुरक्षा, भण्डारण र नियमन प्रणालीमाथि पुनः प्रश्न गरेको छ। नारायणगढस्थित एक पसलबाट खरिद गरिएको बटर घरमा ल्याएर खोल्दा ढुसी देखिएको उपभोक्ताले बताउछन्। उपभोक्ताले यसलाई सामान्य उत्पादन त्रुटि मात्र नभई उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर लापरबाहीको संकेतका रूपमा लिएका छन्। यसैबीच, कम्पनी प्रतिनिधि ध्रुवराज रेग्मीले कम्पनीले उत्पादन गुणस्तरीय रहेको दाबी गर्दै घटना सम्बन्धमा स्पष्ट जिम्मेवारी नलिई अन्य पक्षतर्फ संकेत गर्दै पन्छिन खोजेको उपभोक्ता पक्षको आरोप छ। यस विषयमा कम्पनीको औपचारिक विस्तृत प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
दुग्धजन्य पदार्थ दैनिक उपभोग्य खाद्यवस्तु भएकाले यस्ता घटनाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको सरोकारवालाहरू बताउँछन्। दूध तथा दुग्ध पदार्थलाई शुद्धता, पोषण र सुरक्षित आहारको आधार मानिँदै आएको सन्दर्भमा यस्ता आरोपले बजारको विश्वसनीयतामाथि असर पार्ने देखिन्छ। उपभोक्ताले सम्बन्धित निकायबाट तत्काल छानबिन गरी उत्पादन प्रक्रिया, भण्डारण अवस्था र वितरण प्रणालीको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले आवश्यक परे बजार अनुगमन, नमूना परीक्षण र जिम्मेवारी निर्धारणमा कडाइ गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन्। उक्त कम्पनीले “पञ्चमी” ब्रान्डमार्फत बटर, घ्यू, पनीर र दहीलगायतका दुग्धजन्य उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। यस घटनाले दुग्ध उद्योगमा गुणस्तर नियन्त्रण र उपभोक्ता सुरक्षासम्बन्धी नियमन कत्तिको प्रभावकारी छ भन्ने प्रश्न फेरि एक पटक उठाएको छ। सरोकारवालाहरूले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर पारदर्शी छानबिन गर्नुपर्ने माग गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij