चितवन : चितवन राष्ट्रिय निकुञ्जको जंगली ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई कानुनमन्त्री सविता गौतमले भरतपुर २३ जगतपुरमा पुगेर भेट गरेकी छन्। भेटका क्रममा उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान आवश्यक रहेको बताएकी छन्।
मन्त्री गौतमले मानव–वन्यजन्तु द्वन्द्व नयाँ समस्या नभई लामो समयदेखि दोहोरिँदै आएको विषय भएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भीर रूपमा अध्ययन र योजनामा जुटिरहेको जानकारी दिइन्। उनका अनुसार यस्ता घटनालाई भविष्यमा न्यूनीकरण गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक छ। उनले आधुनिक प्रविधिको प्रयोगमार्फत वन्यजन्तु नियन्त्रण र मानव बस्तीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी छन्।
सोही क्रममा उनले चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिल बहादुर पुन लाई वन्यजन्तु व्यवस्थापन तथा मानव सुरक्षासम्बन्धी कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। मन्त्री गौतमले मृतक परिवारलाई यस आर्थिक वर्षभित्र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सरकार पीडितप्रति संवेदनशील रहेको स्पष्ट पारेकी छन्। मानव–वन्यजन्तु द्वन्द्वका कारण चितवन क्षेत्रमा बारम्बार जनधनको क्षति हुँदै आएको सन्दर्भमा यो भेटले दीर्घकालीन समाधानतर्फ ध्यान केन्द्रित गराएको सरोकारवालाहरूले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij