चितवन : चितवन राष्ट्रिय निकुञ्जको कुख्यात ध्रुबे हात्तीले फेरि एकपटक मानव बस्तीमा त्रास फैलाउँदै एउटै परिवारमाथि दोस्रो पटक दर्दनाक घटना दोहोर्याएको छ। १४ वर्षअघि माडी द्रौपदीनगरमा पूर्ण बोटेका बाजे सोमला बोटे र बज्यै झरली बोटेको ज्यान लिएको यही हात्तीले यसपटक भरतपुर–२३, जगतपुरमा सोही परिवारका सदस्यमाथि आक्रमण गरेको हो।
शनिबार राति घरभित्रै प्रवेश गरेको हात्तीको आक्रमणमा २४ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती धपाउने प्रयासस्वरूप स्थानीयले परालमा आगो लगाउँदा घरसमेत जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने २०६९ सालको आक्रमणपछि बसाइँ सरेर जगतपुर आएका बोटे परिवार फेरि पनि ध्रुबेबाटै प्रभावित बनेका छन्।
यसैबीच, नेपाल बोटे समाज केन्द्रीय समितिले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारसँग तत्काल राहत र क्षतिपूर्तिको माग गरेको छ। समितिले प्रशासनको लापरबाहीप्रति असन्तुष्टि जनाउँदै दीर्घकालीन रूपमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावकारी योजना लागू गर्न आग्रह गरेको छ।
समाजले चारबुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने, उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सुरक्षा पूर्वाधार मजबुत बनाउनुपर्ने तथा पीडित परिवारलाई तत्काल न्यायोचित राहत उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेको छ। घटनापछि स्थानीय तह र सरोकारवाला निकायहरूलाई हात्ती नियन्त्रण तथा बस्ती सुरक्षामा तत्काल कदम चाल्न दबाब बढेको छ।