Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

एकै घरमा निजी क्षेत्रका तीन नेताः बुबा एफएनसीसीआई अध्यक्ष, दुवै छोरा एनवाईईएफको नेतृत्वमा

एकै घरमा निजी क्षेत्रका तीन नेताः बुबा एफएनसीसीआई अध्यक्ष, दुवै छोरा एनवाईईएफको नेतृत्वमा

काठमाडौं : नेपालको निजी क्षेत्रको नेतृत्वमा अहिले एउटा रोचक संयोग देखिएको छ। देशको सबभन्दा ठूलो निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्व एकातिर अञ्जन श्रेष्ठले सम्हालिरहेका छन् भने अर्कोतर्फ उनका दुवै छोरा युवा उद्यमी संगठनको नेतृत्वमा पुगेका छन्।

एउटै परिवारका तीन सदस्य फरक–फरक व्यावसायिक संस्थाको अध्यक्ष बनेपछि निजी क्षेत्रभित्र नेतृत्वको पुस्तान्तरण र नयाँ पुस्ताको बढ्दो सक्रियताबारे चर्चा सुरु भएको छ। नेपालको पुरानो व्यवसायिक ग्रुप लक्ष्मी ग्रुपमार्फत उद्योग व्यवसायमा क्रियाशील रहँदै आएका अन्जनले करिब २ महिनाअघि (२०८३ वैशाख २३ गतेबाट) कार्यभार सम्हालेका हुन्। उनी ३ वर्षका लागि अध्यक्ष बनेका हुन्।

महासंघको नेतृत्व सम्हालेको २ महिनाभित्रै दुई छोरासमेत नेतृत्वमा पुग्न सफल भएका छन्। अर्थात्, व्यावसायिकसँगै नेतृत्वमा समेत लिगेसीलाई आत्मसात् गर्दै नेपाली युवा उद्यमी मञ्च नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्ष बनेका हुन्। उनका जेठा छोरा अनुभव श्रेष्ठ नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको अध्यक्ष बनेका छन्। काठमाडौंका युवा व्यवसायीलाई एकीकृत गर्दै नवप्रवर्तन, स्टार्टअप, नेतृत्व विकास र व्यावसायिक सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्ने योजनासहित उनले असार १९ गतेबाट नेतृत्व सम्हालेका हुन्।

त्यसैगरी कान्छा छोरा अनुकुल श्रेष्ठ ललितपुर च्याप्टरअन्तर्गतको नेपाली युवा उद्यमी मञ्चको अध्यक्ष बनेका छन्। युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नयाँ व्यवसायीलाई संस्थागत रूपमा जोड्ने र व्यवसायमैत्री वातावरण निर्माणका लागि आवाज उठाउने लक्ष्यसहित उनले असार १३ गतेबाट नेतृत्व सम्हालेका हुन्।
नेपालमा पारिवारिक व्यवसाय सञ्चालन गर्ने परिवार धेरै छन। तर, एकै समय बुबा राष्ट्रिय स्तरको निजी क्षेत्रको छाता संस्थाको अध्यक्ष र दुवै छोरा युवा उद्यमी संगठनको अध्यक्ष बन्नु भने दुर्लभ संयोग हो। व्यावसायिक वृत्तमा यसलाई केवल पारिवारिक उपलब्धिका रूपमा मात्र नभई नेतृत्वको स्वाभाविक पुस्तान्तरणको संकेतका रूपमा पनि हेरिएको छ। हजुर बुबा गणेशबहादुर श्रेष्ठले ५३ वर्षअघि (सन् १९७३)मा पोखरामा मिठाई पसलबाट सुरु गरेको व्यापारलाई उद्यमसँग जोड्दै आएका छन्। अहिले लक्ष्मी ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक घरना मध्येको एक हो।

तीनै व्यावसायिक घरनाभित्र हुर्किएका अनुभव र अनुकुल अहिले युवा उद्यमीहरुको नेताको रुपमा अघि सरेका छन्। पारिवारिक बिजनेसलाई नै सम्हाल्दै आएका उनीहरूमध्ये अनुभवले सिद्धि लक्ष्मी स्टिलको व्यापार हेरिरहेका छन् भने अनुकुलले इलेक्ट्रिक सामान बेच्दै आएको जैमा इन्टरकन्टिनेन्टल प्रालिको नेतृत्व गरिरहेका छन्। अञ्जनले दशकौंदेखि उद्योग–व्यापार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन। उनी महासंघको विभिन्न तहको जिम्मेवारी हुँदै अध्यक्ष पदसम्म पुगेका हुन। उनका दुवै छोरा अनुभव र अनुकुल पनि युवा उद्यमी मञ्चको विभिन्न पदमा बसेर काम गर्दै अहिले नेतृत्वमा पुगेका हुन्। 

लक्ष्मी ग्रुपको अध्यक्षमा भने गणेशबहादुर रहेका छन्। ग्रुपको चार जना छोराहरूले लिड गरिरहेका छन्। अहिले ग्रुपको कार्यकारी निर्देशकमा सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन्। अनुभव र अनुकुल अन्जनका छोरा हुन्। हाल ग्रुपले अटोमोबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ। देशभरि ग्रुपको २० भन्दा धेरै कम्पनी छन। यसमा १ हजार ७ सयभन्दा धेरैले रोजगारी पाएका छन। सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल, जयमाँ लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij