Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सर्लाहीमा एक युवकद्धारा  आत्मदाहको प्रयास , उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगियो

सर्लाहीमा एक युवकद्धारा  आत्मदाहको प्रयास , उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगियो

सर्लाही :  सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ।


उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

घरमा सामान्य विवाद भएपछि विवेक घरबाट निस्किएका थिए। त्यसपछि सडकमा पुगेर उनले शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।

स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विवेकको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रहरीले जनाएको छ  ।

विवेकले बीएससी उत्तीर्ण गरेका थिए । उनले करिब डेढ वर्ष निजी क्षेत्रमा जागिर गरेका थिए भने पछिल्ला दुई वर्षदेखि घरमै बस्दै आएका थिए।

साथै, आफ्नो वडामा सञ्चालन हुने विकास निर्माणका कामको गुणस्तरबारे चासो राख्ने, अनुगमन गर्ने तथा ठेकेदार वा उपभोक्ता समितिका प्रतिनिधिसँग बेला–बेला विवाद गर्ने गरेको एक स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij