Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

ध्रुवे हात्ती पीडित परिवार भेट्न वनमन्त्री चौधरी आफैं पुगिन्, मानव–वन्यजन्तु द्वन्द्व समाधानमा सरकार प्रतिबद्ध

ध्रुवे हात्ती पीडित परिवार भेट्न वनमन्त्री चौधरी आफैं पुगिन्, मानव–वन्यजन्तु द्वन्द्व समाधानमा सरकार प्रतिबद्ध

चितवन : ध्रुवे हात्तीको आक्रमणबाट आमा–छोरीको ज्यान गएको घटनापछि वन तथा वातावरण मन्त्री गीता चौधरी पीडित परिवारलाई भेट्न चितवन पुगेकी छन्। घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री चौधरीले पीडित परिवारलाई सरकारले आवश्यक सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन्।

पीडित परिवारसँग भेट गर्दै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय गम्भीर चुनौती बन्दै गएको भन्दै यसको दीर्घकालीन समाधानका लागि सरकार संवेदनशील रहेको बताइन्। उनले विगतमा भएका कमजोरी र ढिलासुस्तीलाई सुधार गर्दै तत्काल राहत, सुरक्षा व्यवस्था र वन्यजन्तु नियन्त्रणका कामलाई प्रभावकारी बनाउने बताइन्। “मानिसको ज्यानभन्दा ठूलो कुरा केही हुन सक्दैन। वन्यजन्तु संरक्षणसँगै नागरिकको सुरक्षालाई पनि सरकारले प्राथमिकतामा राखेको छ,” मन्त्री चौधरीले भनिन्।

उनले ध्रुवे हात्तीको गतिविधि नियन्त्रण, निगरानी बढाउने र प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा उपाय अपनाउने कामलाई तीव्रता दिने जानकारी दिइन्। यसैबीच, आमा–छोरीको ज्यान लिने ध्रुवे हात्तीको खोजी तथा नियन्त्रणमा ढिलाइ भएको भन्दै भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले आक्रोश व्यक्त गरेका छन्।

उनले पटक–पटक मानव बस्तीमा प्रवेश गरी क्षति पुर्याउँदै आएको हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले अझ प्रभावकारी कदम चाल्नुपर्ने बताए। वडाध्यक्ष दवाडीले स्थानीयको सुरक्षाका लागि तत्काल विशेष टोली परिचालन गरी ध्रुवे हात्तीको पहिचान र नियन्त्रण गर्नुपर्ने माग गरे। “घटना भएपछि मात्रै सक्रिय हुने होइन, जोखिम भएका क्षेत्रमा पहिले नै प्रभावकारी योजना आवश्यक छ,” उनले भने।

ध्रुवे हात्तीको त्रासका कारण चितवनका विभिन्न क्षेत्रमा स्थानीयवासी भयमा रहेका छन्। वन कार्यालय, निकुञ्ज प्रशासन र स्थानीय तहबीच समन्वय गरी हात्ती नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij