झापा: झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानको मुन्द्रा लुटिएको थियो। स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत सोही तरिकाले कानको मुन्द्रा लुटिएको थियो।
एक महिनायता कनकाई नगरपालिकाभित्र एउटै शैलीमा पाँच बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि विशेष निगरानी बढाइएको सूचना अधिकारी अवाले बताए। प्रहरीका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेज र पीडित बालबालिकाको बयानको आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र बनाइएको थियो। सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । साथै, लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij