काठमाडौँ : नेकपा एमालेले प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष दिपक धामीसहितका सात जना विद्यार्थी नेताहरूलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै मुलुकमा व्याप्त आकासिँदो मूल्यवृद्धि, सुकुमबासी नागरिकहरूमाथिको अत्याचार र शृङ्खलाबद्ध राज्य आतङ्कका विरुद्ध जनसरोकारका मुद्दा उठाई सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि सरकारले गरेको बर्बर दमन र गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राजधानीका सञ्चार गृह, राजनीतिक नेता र व्यवसायीका निवास एवं कार्यालयहरूमा गाडी पार्किङ गराइ राज्य संरक्षित अवरोध सिर्जना गरेको घटनाको साङ्केतिक विरोध गर्दा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो ।
‘नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई कुण्ठित गर्दै सरकारले देखाएको यो कायरतापूर्ण रवैया लोकतन्त्र र मानव अधिकारको ठाडो उल्लङ्घन हो। हाम्रो पार्टी सरकारको यस अधिनायकवादी कदमको कडा शब्दमा निन्दा र घोर भर्त्सना गर्दछ’, एमाले महासचिव पोखरेलले भनेका छन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij