Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मोटरसाइकलबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद, दुई जना पक्राउ

मोटरसाइकलबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद, दुई जना पक्राउ

सुर्खेत : डोल्पाको त्रिपुराकोटमा नियमित सुरक्षा जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । त्यसलगत्तै प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डमा संयुक्त सुरक्षा टोलीले चेकजाँच गरेको थियो । त्यस क्रममा दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकलको जाँच गरिएको थियो । मोटरसाइकल त्रिपुरासुन्दरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकायले चलाएका थिए भने पछाडि सोही स्थानका ४२ वर्षीय भक्तीचन्द्र रोकाय सवार थिए ।

प्रहरीले मोटरसाइकलको पछाडि बसेका भक्तीचन्द्र रोकायको साथबाट स्रोत खुल्न नसकेको ५५ लाख ९० हजार रुपैयाँ फेला पारेको जनाएको छ । त्यसपछि रकम बरामद गरी चालक विष्णुलाल रोकाय र रकम बोकेका भक्तीचन्द्र रोकाय दुवैलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको २१ सदस्यीय संयुक्त टोलीले उक्त चेकजाँच  गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले बरामद भएको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

उनले भने, "चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिको साथबाट ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको हो । तत्काल उक्त रकमको स्रोत खुलाउन नसकेपछि रकमसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ । रकम कहाँबाट ल्याइयो, कसको हो र के प्रयोजनका लागि ओसारपसार गरिएको थियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।"

प्रहरीका अनुसार बरामद नगदको स्रोत, कारोबारको प्रकृति र त्यससँग जोडिएका सम्भावित पक्षबारे अनुसन्धान जारी छ । अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट