Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भरतपुरका २९ वटै वडामा ४१८ सिसी क्यामेरा जडान, सुरक्षामा प्रविधिको प्रयोग बढाउँदै महानगर

भरतपुरका २९ वटै वडामा ४१८ सिसी क्यामेरा जडान, सुरक्षामा प्रविधिको प्रयोग बढाउँदै महानगर

चितवन : भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा महानगरका २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । सहरी सुरक्षा, ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणलाई लक्षित गर्दै महानगरले ४१८ वटा क्यामेरा जडान गरेको हो ।

महानगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प काफ्लेका अनुसार सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा राखिएको छ । एउटा वडामा आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको उनले जानकारी दिए । क्यामेरा जडानका लागि महानगरले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित ५ करोड ५८ लाख २० हजार ६५९ रुपैयाँ खर्च गरेको जनाएको छ ।

जडान गरिएका क्यामेरामध्ये आठ वटा गति मापन गर्ने, चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने तथा नौ वटा ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने क्षमताका रहेका छन् । गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा महानगर प्रवेश गर्ने मुख्य नाकामा राखिएका छन् । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । क्यामेराको मनिटर जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नेपाल टेलिकमको जिपिएन नेटवर्क प्रयोगका लागि वार्षिक ४७ लाख रुपैयाँ भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ । सिसी क्यामेराले ट्राफिक व्यवस्थापन सहज बनाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने, अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न सहयोग पुग्ने महानगरको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट