ठोरी : पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारका होटलहरूमा गृहमन्त्री सुदन गुरुङ स्वयं सुरक्षाकर्मीसहित पुगेर शुक्रबार राति करिब ९:३० बजे छापा मारेका छन्।
गृहमन्त्री गुरुङको उपस्थितिमा ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’ मा छापा मारिएको हो। छापाका क्रममा होटल सञ्चालक, होटलका कर्मचारी तथा पाहुनासहित ९ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरी लगिएको थियो। पक्राउ परेकामध्ये ७ जना युवती र २ जना होटल सञ्चालक रहेको बताइएको छ।
सुरक्षा निकायका अनुसार ती होटल तथा दोहोरी साँझमा अनैतिक गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मारिएको हो। छापामा सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति (एसपी), बोर्डर आउट पोस्ट (बीओपी) ठोरीका इन्स्पेक्टर तथा नेपाल प्रहरीको टोली सहभागी भएको थियो।
उच्च स्रोतका अनुसार गृहमन्त्रीकै उपस्थितिमा दुवै होटलमा छापा मारेर व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। स्रोतका अनुसार स्थानीयबाट प्राप्त सूचनापछि गृहमन्त्रीको निर्देशनमा उहाँकै उपस्थितिमा उक्त कारबाही गरिएको थियो।
यस घटनाबारे प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल लाई प्रारम्भमा जानकारी नभएको बताइएको छ। स्थानीय प्रहरी भने सुरुदेखि नै कारबाहीमा संलग्न थियो। छापा सम्पन्न भएपछि मात्रै गृहमन्त्री गुरुङले सीडीओ र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई घटनास्थलमा बोलाएको र त्यसपछि उनीहरू ठोरी पुगेको स्रोतले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij