चितवन : केही दिनदेखि बेपत्ता रहेकी नवलपुरको गैँडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा भारतीय क्षेत्रमा फेला परेकी छन्। नारायणी नदीले बगाएर शव भारतीय सीमाभित्र पुगेको अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ।
श्रेष्ठ असार १४ गते साँझ करिब ८ बजे बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। खोजीका क्रममा उनको स्कुटर तनहुँ–चितवन सीमास्थित पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा बेवारिसे अवस्थामा भेटिएको थियो। त्यसपछि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायले नारायणी नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए।
पारिवारिक स्रोतका अनुसार असार १७ गते नै त्रिवेणीपारि भारतीय क्षेत्रमा एक महिलाको शव फेला परेको थियो। त्यतिबेला शवको पहिचान खुल्न नसकेपछि भारतीय सुरक्षाकर्मीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको व्यवस्थापन गरिसकेका थिए।
पछि भारतीय प्रहरीले प्रमाणका रूपमा सुरक्षित राखेका शवका फोटो, भिडियो तथा मृतकसँग रहेका केही सामग्री नेपालस्थित आफन्तलाई उपलब्ध गराएपछि उक्त शव सन्तोषी श्रेष्ठकै भएको पुष्टि भएको हो। उनले हराएको दिन लगाएको कुर्ता, विन्डप्रुफ ज्याकेट र हातको औँठीका आधारमा परिवारले शवको पहिचान गरेको जनाएको छ।
शवको भौतिक व्यवस्थापन भारतीय क्षेत्रमै भइसकेकाले नेपाल ल्याउन सम्भव नभएपछि धार्मिक परम्पराअनुसार देवघाट धाममा प्रतीकात्मक रूपमा अन्त्येष्टि तथा उत्तरक्रियाका विधिहरू सुरु गरिएको परिवारले जनाएको छ। कपाल, कुश तथा उपलब्ध स्मृति चिह्नलाई प्रतीक मानी हिन्दू संस्कारअनुसार अन्त्येष्टिसम्बन्धी धार्मिक कर्म सम्पन्न गरिएको बताइएको छ।
घटनाबारे नेपाल र भारतका सुरक्षा निकायबीच आवश्यक समन्वय भएको जनाइएको छ। घटनाको थप विवरण र बेपत्ता हुनुपछाडिका कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।